बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

भोटेकोशी-त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

गैरसरकारी संस्था स्टार्ट फन्ड एन-नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।

बाढीबाट प्रभावित र विशेष जोखिममा रहेका एकल महिलासहितका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको उनले बताए । “पहिलो चरणमा प्रभावितलाई राहत स्वरुप जाडोयामका लागि आवश्यक सामग्री, खानेपानी र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ”, कार्यकारी निर्देशक न्यौपानेले भने, “आगामी हप्ता सोही गाउँपालिका-१ र ५ मा समेत आधारमा राहत सामग्री वितरण गरिनेछ ।”

युएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुर गरी तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ ।  सामुदायिक भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहान चिया-नास्ता, दिउँसो खाना र खाजा तथा साँझको खाना नियमित उपलब्ध गराउँदै आएको गैरसरकारी संस्था रोयम नेपालका प्रशासन तथा वित्त सहायक गोमा विष्टले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको सामुदायिक भान्सामा विपद्बाट प्रभावित परिवारलाई रोजगारी तथा कामको अवसर समेत प्रदान गरिएको छ । रोयम नेपालले बाढी प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कम्तीमा ३०० घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ । उनका अनुसार जाडोयामलाई लक्षित गरी एक हजार घरपरिवारलाई सिरक, ब्लाङ्केट, थर्मकोटलगायत न्यानो कपडा तथा तातोपानीका लागि थर्मस र झोला वितरण गर्ने तयारी भइरहेको छ । “प्रभावित परिवारलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग समेत प्रदान गरिनेछ”, उनले भने ।

राहत, रोजगारी तथा जीविकोपार्जन सहयोगबाट विपद्बाट प्रभावित परिवारले कठिन परिस्थितिमा तत्काल आयआर्जनको अवसर प्राप्त गरी दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ । त्यस्तै बाढीका कारण नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा क्षति पुगेका खानेपानीका पाइपलाइन मर्मतको काम समेत संस्थाले अघि बढाएको रोयम नेपालका व्यवस्थापन संयोजक अनुप खनालले बताए ।

उत्तरगया गाउँपालिका-२ डाँडागाउँका वडाध्यक्ष टुकु सुवेदीले विपद्का समयमा उपलब्ध गराइएको राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवनयापनमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । 

उनले प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग तथा सहजीकरणलाई निरन्तरता दिन आग्रह गरे ।रेन (रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल) कार्यक्रमअन्तर्गत युके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन-नेपालको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

गैरसरकारी संस्था आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्युएचएच) को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको छ । 

ती संस्थाले बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेका छन् ।