भोटेकोशी-त्रिशूली विपद्: बाढीमा देखिएको रासायनिक गन्ध र पाउडरबारे अनुसन्धान गर्न माग
सांसद लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीले स्थानीय समुदायको थाँतथलो नै मेटिने गरी क्षति पुर्याएको भन्दै प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा पुनस्र्थापित गर्न आग्रह गरिन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रको बाढी र विपद्को कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकमा उनले विपद्का क्रममा देखिएको अस्वाभाविक रासायनिक गन्ध र पाउडरजस्तो पदार्थबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीले स्थानीय समुदायको थाँतथलो नै मेटिने गरी क्षति पुर्याएको भन्दै प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा पुनस्र्थापित गर्न आग्रह गरिन् । उनले बाढीका बेला देखिएको रासायनिक गन्ध र माटो वा बालुवाभन्दा फरक प्रकारको पाउडरको उपस्थितिबारे सरकारी तहबाटै वैज्ञानिक छानबिन हुनुपर्नेमा जोड दिइन् ।
सांसद लामाले धादिङ, गोरखा र नुवाकोटका त्रिशूली पारीका बस्तीहरूलाई जोड्ने फुर्के खोलामा तत्काल बेलिब्रिजको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन्। बौद्ध धर्मावलम्बीहरूको परम्पराअनुसार मृतकको काजकिरियाका लागि स्थानीय तह र लामा गुरुहरूसँग समन्वय गरी सामुदायिक रूपमा ४९ दिनभित्र काजकिरिया सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
बाढीबाट अभिभावक गुमाएका बालबालिका र वृद्धवृद्धाहरूका लागि आश्रयस्थलको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । समीक्षा बैठकमा सांसद लामाले पूर्वाधार निर्माणमा प्राविधिक आधार नमान्दा विपद् निम्तिने गरेको भन्दै आगामी दिनमा डोजर संस्कृतिलाई निरुत्साहित गरी वैज्ञानिक र प्राविधिक प्रतिवेदनका आधारमा मात्र विकास निर्माणका काम अघि बढाउन सरकारलाई सुझाव दिइन् । राहत वितरणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै उनले वास्तविक लाभग्राहीको पहिचान गरी यथाशीघ्र राहत रकम वितरण गर्न पनि माग गरिन् ।