राष्ट्र बैंकको नयाँ व्यवस्था: सेवा निर्यातकर्ताले १० हजार डलरसम्म विदेशी मुद्रा खर्च गर्न पाउने
राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै यस्तो सीमा ५ हजार अमेरिकी डलरबाट बढाएर १० हजार डलर पुर्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिक तथा संस्थाका लागि विदेशी मुद्रा प्रयोगसम्बन्धी सुविधा विस्तार गरेको छ । केन्द्रिय बैंकले कार्डमा विदेशी मुद्रा राख्न तथा विदेशमा खर्च गर्न पाउने वार्षिक सीमा दोब्बर बनाएको हो ।
राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै यस्तो सीमा ५ हजार अमेरिकी डलरबाट बढाएर १० हजार डलर पुर्याएको छ । नयाँ व्यवस्थाअनुसार सफ्टवेयर, डिजिटल सामग्रीलगायत अन्य सेवा विदेशमा बिक्री गरी विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिक वा संस्थाले उक्त रकममध्ये बढीमा १० हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा कार्डमा मौज्दात राख्न सक्नेछन् ।
कार्डमा १० हजार डलरभन्दा बढी रकम जम्मा भएमा तोकिएको सीमाभन्दा माथिको रकम अनिवार्य रूपमा प्रयोगकर्ताको बैंक खातामा जम्मा गर्नुपर्नेछ। बैंक खाता स्वदेशी वा विदेशी मुद्राको हुन सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, सेवा निर्यातबाट विदेशी मुद्रा कमाएका कार्ड प्रयोगकर्ताले विदेशमा वस्तु तथा सेवा खरिद गर्दा वार्षिक अधिकतम १० हजार अमेरिकी डलरसम्म खर्च गर्न सक्नेछन् । यसअघि कार्डमार्फत विदेशमा खर्च गर्न पाउने वार्षिक सीमा पनि ५ हजार डलरमा सीमित थियो ।
बैंकलाई विदेशमा लगानीको सीमा बढ्यो
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो एजेन्सी मौज्दातबाट विदेशमा लगानी गर्न पाउने सीमासमेत बढाएको छ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट कम्तीमा ‘ए–/ए३’ (A-/A3) वा सोभन्दा माथिल्लो रेटिङ प्राप्त गरेका मुलुकका उच्च तरल विदेशी सरकारी ऋणपत्रमा लगानी गर्दा बैंक तथा वित्तीय संस्थाले यसअघि कायम सीमाभन्दा थप १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् ।
यससँगै कुल विदेशी मौज्दातको बढीमा ५० प्रतिशतसम्म रकम यस्तो लगानीमा प्रयोग गर्न सकिनेछ । यस्तो लगानीको अवधि अधिकतम पाँच वर्षसम्म हुनुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल मौज्दातको बढीमा ४० प्रतिशतसम्म मात्र विदेशमा लगानी गर्न पाउने व्यवस्था थियो ।
यसैगरी, सूचना प्रविधि, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन तथा ऊर्जा क्षेत्रका उद्योगले विदेशी मुद्रामा प्राप्त गर्ने कर्जा सुविधा वा पुँजीगत वस्तु आयातका लागि उपलब्ध हुने उधारो सुविधासँग सम्बन्धित विदेशी विनिमय जोखिम व्यवस्थापन (हेजिङ) का लागि बैंकहरूले पनि लगानी गर्न सक्ने भएका छन् ।
यस्ता हेजिङ प्रयोजनका लागि बैंकहरूले अधिकतम पाँच वर्ष अवधिसम्मका वित्तीय उपकरणमा लगानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।