पाँच महिनापछि सेबोनबाट आईपीओ स्वीकृत, हिम पर्वत हाइड्रोलाई ५९ लाख कित्ता अनुमति
अनुमति पाएसँगै हिम पर्वत हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको शुक्रबार बसेको बैठकले कम्पनीलाई ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।
अनुमति पाएसँगै हिम पर्वत हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
सेबोनले गत वैशाख २ गतेयता कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थिएन । करिब पाँच महिनापछि हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएसँगै प्राथमिक सेयर निष्कासनको प्रक्रिया पुनः अघि बढेको हो ।
सेबोन अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएको करिब तीन महिनापछि पहिलोपटक आईपीओ स्वीकृति दिइएको हो । यससँगै लामो समयदेखि रोकिएको आईपीओ निष्कासन प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।