सरकार ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन्: रवि लामिछाने

उनले लोकतन्त्रको नाममा विधि, मूल्य र मान्यतालाई मिच्ने कार्यले नै मुलुकलाई संकटमा पार्ने चेतावनी दिए ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा निराधार रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार अस्थिर हुने भनी भइरहेका टीकाटिप्पणीलाई व्यङ्ग्य गर्दै वर्तमान सरकार इतिहास बदल्ने उद्देश्यका साथ बनेकोले तत्काल नढल्ने स्पष्ट पारेका हुन् ।

सभापति लामिछानेले सरकार ढल्छ भन्ने भाष्यलाई खारेज गरे । उनले आफूहरूले व्यक्तिलाई नभई इतिहासलाई साक्षी राखेर प्रणाली सुधारको लक्ष्यसहित सरकार गठन गरेको जिकिर गरे । उनले लोकतन्त्रको रक्षाको विषयमा पनि विशेष टिप्पणी गरे । उनले लोकतन्त्रको नाममा विधि, मूल्य र मान्यतालाई मिच्ने कार्यले नै मुलुकलाई संकटमा पार्ने चेतावनी दिए । 

यसअघि संसद्मा आफूले व्यक्त गरेको धारणालाई स्मरण गर्दै लामिछानेले दुई ठूला दलहरू विना कुनै उद्देश्य वा संकट एक ठाउँमा आउँदा त्यसले राजनीतिक संकट निम्त्याउने गरेको दाबी गरे । आफ्नो सो भनाइ अहिले सत्य सावित भएको बताउँदै उनले वर्तमान राजनीतिक परिस्थितिप्रति कटाक्ष गरे ।