भन्सारका नाममा जनताको निजी सम्पती लुट्ने काम बन्द हुनुपर्छः प्रभु साह

उनले सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै हिमाली तथा पहाडी क्षेत्रमा समेत सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताए ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सारका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको बताएका छन् । 

पार्टीको आईतबारदेखि सुरु भएको केन्द्रिय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भन्सारको नाममा जनतालाई सरकारले दुःख दिने गरेको बताएका हुन् । भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामाग्रीमा पनि सरकारले भन्सार कर लगाउने गरेको आरोप लगाए । तर हवाईमार्गबाट आउने व्यक्तिले महँगा सामान ल्याउँदा भन्सार नलिने गरिएको उनको भनाई छ । उनले भन्सार नियन्त्रणका नाममा सर्वसाधारणको निजी सम्पती कखोस्ने काम रोक्नुपर्ने बताए । उनले वर्तमान सरकारले सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाएकोमा पनि असन्तुष्टी जनाए । उनले सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै हिमाली तथा पहाडी क्षेत्रमा समेत सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताए । सीमा सुरक्षा गर्नलाई हो भने सुस्तामा किन नराखेको ? कालापानीमा किन नपठाएको ? उनले प्रश्न गरे । सीमा सुरक्षाभन्दा सर्वसाधारणलाई दुःख दिने उद्देश्यले मात्र सुरक्षाकर्मीको संख्या बढाइएको उनको आरोप छ । 

अध्यक्ष साहले किसानलाई सरकारले मलखाद, बजार र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न नसकेको आरोप लगाउनु भयो । उनकाअनुसार किसानले उत्पादन गरेको उखु, मकै तथा अन्य कृषि उपज विक्री गरेपछि समेत लामो समयसम्म पनि भुक्तानी पाउन सकेका छैनन् । किसानलाई उत्पादनका लागि आवश्यक सामग्री, बजार र उचित मूल्य उपलब्ध गराउनु सरकारको दायित्व भएको उनले बताए । सहकारी तथा लघुवित्त पीडितको समस्या समाधानका लागि सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको बताए । पीडितसँग गरिएका सम्झौता कार्यान्वयन गरी समस्या समाधानतर्फ सरकार अघि बढ्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकारसँग रहेको दुई तिहाइको राजनीतिक शक्तिलाई जनताले अनुभूति गर्ने परिणाममा बदल्नुपर्नेमा जोड दिए । तर सरकारले काम र परिणाम देखाउन नसकेको उहाँको आरोप छ । सरकारलाई दुई तिहाइ बोझ भईरहेको उनको भनाई छ । उहाँले दुई तिहाईलाई बोझ नठानी काम गर्न सुझाव र्दिए ।

सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने उनको भनाई छ । सरकारले १०० दिनमा गर्ने भनेर घोषणा गरेका काम ६ महिना पुग्दा समेत हुन नसकेको उनले बताए । सरकार आफैँले १०० दिनपछि गरेको कार्यसम्पादनको मूल्यांकन पनि उत्तीर्ण हुन नसकेको उनको दाबी छ ।