सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
ललितपुर। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् । ज्यापू समाज यलद्वारा आज आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए ।
सभामुख अर्यालले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
उनले स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानून निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने बताए । नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए ।