रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

नेपाल प्रहरीले रसुवाको भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीपछिको विपद् प्रतिकार्यका क्रममा शव व्यवस्थापन र आश्रयस्थल व्यवस्थापनका क्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको बताएको छ ।

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीपछिको विपद् प्रतिकार्यका क्रममा शव व्यवस्थापन र आश्रयस्थल व्यवस्थापनका क्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको बताएको छ । 

शुक्रवार जलवायु परिवर्तन सिर्जित विपद्बारे संसद्ले गठन गरेको अध्ययन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालयकुमार श्रेष्ठले यस्तो बताएका हुन् ।

प्रहरीका लागि सबैभन्दा चुनौतीपूर्ण काम शव व्यवस्थापन भएको उनले बताए ।

उनले नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबीच समन्वय गरेर काम गर्दा पनि ठूलो संख्यामा रहेको शव व्यवस्थापनमा कठिनाइ भएको बताए । उनले विपद्को सामना गर्ने क्रममा सुरक्षा निकायले सामना गर्नुपरेको चुनौती र भोग्नुपरेको समस्याले विपद् पूर्वतयारी, स्रोतसाधनको उपलब्धता तथा कार्यविधिमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखिएको बताए ।

उनले बाढी प्रभावित नागरिकलाई तत्काल आश्रय उपलब्ध गराउने होल्डिङ सेन्टर तथा सेल्टर व्यवस्थापनमा पनि अपेक्षित गतिमा काम गर्न कठिनाइ भएको भएको बताए । उनले राहत वितरणका क्रममा सडक सञ्जालको अवस्थाको कारण अपेक्षाकृत कार्य हुन नसकेको बताए । विपद्पछिको व्यवस्थापनमा राहत वितरण, प्रभावितको विवरण सङ्कलन तथा प्रोफाइलिङ र अन्य प्रशासनिक काम थपिँदै जाँदा सुरक्षा निकायमाथि कार्यभार बढेको उनको भनाइ छ ।

उनले विपद् व्यवस्थापनको क्रममा भएको कमजोरीलाई सिकाईको रुपमा लिएर राज्य संयन्त्रलाई अझै बलियो बनाउन आवश्यक रहेको पनि बताए ।