चाडपर्व लक्षित विशेष सुरक्षा योजनाः काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन

असोज १६ गतेबाट सुरु भई कात्तिक ३० गतेसम्म ४५ दिनका लागि तय गरिएको यो योजनाले राजधानीको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने र आपराधिक गतिविधि न्युनिकरण गर्ने लक्ष्य लिएको छ ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साढे तीन हजारभन्दा बढी प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरेको छ । असोज १६ गतेबाट सुरु भई कात्तिक ३० गतेसम्म ४५ दिनका लागि तय गरिएको यो योजनाले राजधानीको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने र आपराधिक गतिविधि न्युनिकरण गर्ने लक्ष्य लिएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापा र एसएसपी दिलिप घिमिरेले विगतका वर्षहरूको अपराध विश्लेषण र सुरक्षा जोखिमलाई आधार मानेर यस वर्षको सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो । चाडपर्वका समयमा घर खाली हुने, बजारमा भीडभाड बढ्ने र मानिसहरूको आवतजावत बढी हुने भएकाले चोरी, लुटपाट र सवारी दुर्घटना जस्ता चुनौतीलाई मध्यनजर गर्दै यो विशेष पहल लिइएको हो । 

यस सुरक्षा योजनाअन्तर्गत उपत्यकाका मुख्य बजार, बसपार्क र संवेदनशील क्षेत्रमा ३ हजार ५ सय ६ जना प्रहरी जनशक्ति परिचालन हुनेछन् । प्रहरीले नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने, सीसीटीभीमार्फत निरन्तर निगरानी गर्ने र टिकट काउन्टरमा हुने ठगी तथा सवारी साधनको ओभरलोड नियन्त्रणमा विशेष ध्यान दिने रणनीति बनाएको थापाले बताए । 

 ‘दशैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ लागू गरिएको यो योजनाले समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना फैलाउने र शान्ति सुव्यवस्था कायम गरी प्रहरी-नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको एसएसपी घिमिरेले बताए । चाडपर्वको अवसरमा नागरिकहरू घर फर्कने र बजारमा हुने अत्यधिक चहलपहलको फाइदा उठाउँदै आपराधिक समूह सक्रिय हुनसक्ने भएकाले शतर्क रहन आग्रह गरे । विगतका घटनाहरूको ‘क्राइम प्याटर्न एनालाइसिस’ गरी प्रहरीले यसपटक प्रविधिमैत्री र परिस्कृत सुरक्षा रणनीति तयार गरेको जनाएको छ ।

मुख्यगरी चोरी, लुटपाट, जुवातास र सडक दुर्घटना नियन्त्रणमा विशेष ध्यान केन्द्रित गरिने काठमाडौँ उपत्यका प्रहरीले जनाएको छ । सवारी साधनमा हुने ठगी र ओभरलोडका कारण हुने दुर्घटना रोक्न प्रहरीले हेल्प डेस्क र नागरिक सहायता कक्षहरू स्थापना गर्ने भएको छ । साथै, सीसीटीभीमार्फत मनिटर गरिने र भीडभाड हुने स्थानहरूमा प्रहरी परिचालन व्यापक बनाइने घिमिरेको भनाइ छ ।

‘दशैँ कसैको लागि दशा नबनोस्’ भन्ने मूल मन्त्रका साथ प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना फैलाउने र फेसबुकलगायत सामाजिक सञ्जालमार्फत सूचना आदान-प्रदान गर्ने बताए । आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन र आकस्मिक अवस्थामा द्रुत प्रतिकार्य गर्न प्रहरीलाई थप सक्रिय बनाइने बताइएको छ ।