करदाता प्रोत्साहन उपहार : लालबाबु साह कानुले पाए १० लाखको बम्पर पुरस्कार

साह कानुले २१ हजार रुपैयाँबराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौँ । सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । 

शुक्रवार आन्तरिक राजस्व विभागले शुक्रवार एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । असोज १ देखि १५ गतेसम्मको अवधिका लागि पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार पाएका छन् । साह कानुले २१ हजार रुपैयाँबराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले साह कानुलाई फोनमार्फत बधाई दिएका थिए । उनले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिद गरी बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रममा सहभागी हुन योग्य थिए । 

आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो ।