आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकः हवाई भाडा नबढाउने, यात्रु र चालक दलको सुरक्षा सर्वोपरी राख्ने
छलफलमा भाग लिँदै पर्यटन मन्त्री खडकराज पौडेलले विधेयकलाई थप व्यावहारिक र स्पष्ट बनाउन विधान व्यवस्थापन समितिबाट प्राप्त सुझावहरूलाई आत्मसात गरिएको बताए ।
काठमाडौं । राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूबाट आएका सुझावलाई समेट्दै सरकारले विधेयकमा १३ वटा बुँदामा संशोधन गरेको छ । शुक्रबारको बैठकमा मन्त्री खड्गराज पौडेलले सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै, विधेयक कार्यान्वयनका लागि आजैबाट तयारी सुरु गर्ने जानकारी गराएका हुन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल सम्पन्न भएको छ । छलफलमा भाग लिँदै पर्यटन मन्त्री खडकराज पौडेलले विधेयकलाई थप व्यावहारिक र स्पष्ट बनाउन विधान व्यवस्थापन समितिबाट प्राप्त सुझावहरूलाई आत्मसात गरिएको बताए ।
मन्त्री पौडेलकाअनुसार विधेयकमा परेका १५ वटा संशोधन प्रस्तावमध्ये १३ वटालाई विधेयकमा समावेश गरिएको छ । विशेषगरी, ऐनका प्रावधानहरूमा दोहोरो अर्थ नलागोस् र आम सर्वसाधारणले सहजै बुझ्न सकून् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा विशेष ध्यान दिइएको उनले प्रष्ट पारे । मन्त्रीले यो विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरी राख्ने दाबी गरे ।
छलफलका क्रममा सांसदहरूले उठाएको प्रचारप्रसारको विषयलाई गम्भीरतापूर्वक लिँदै सरकारले तत्कालै राष्ट्रव्यापी सचेतना योजना सुरु गर्ने प्रतिवद्धता मन्त्रीले जनाएका छन् । यात्रुहरूलाई आफ्ना अधिकार र वायुसेवाको दायित्वबारे सुसूचित गराउन विभिन्न माध्यमबाट जानकारी दिइने मन्त्रालयको तयारी छ ।