एन्फा निलम्बनको असर: पहिलो पटक साफ च्याम्पियनसिप खेल्नबाट नेपाल वञ्चित
साफले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने बताएको थियो तर, उक्त समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने निश्चित भएको हो ।
काठमाडौं । नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित भएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहटेपछि बंगलादेशमा हुने १५औं साफ च्याम्पियनसिप नेपालले भाग लिन नपाउने भएको हो ।
फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा) माथि लगाएको निलम्ब कायमै रहेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले विहिबार खेलको तालिका प्रकाशित गरेको छ । साफले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने बताएको थियो तर, उक्त समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने निश्चित भएको हो ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार ११ गते एन्फालाई निलम्बन गरेको थियो । गत अगस्ट १ मा भुटानको थिम्पुमा भएको समूह विभाजनमा नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा राखिएको थियो । त्यस्तै समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन् ।
सन् १९९३ मा सुरु भएको दक्षिण एसियाको फुटबल महोत्सवका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । साफ च्याम्पियनसिपको १५औं संस्करण नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुँदैछ ।