श्रमाधान सीप तथा रोजगार मेलाः जनसांख्यिक लाभांशलाई अर्थतन्त्रको इन्जिन बनाउने सरकारको लक्ष्य
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशमा ‘श्रमाधान सीप तथा रोजगार मेला २०८३’ को औपचारिक सुरुवात गरेको छ । मेलाको उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले संविधानप्रदत्त रोजगारीको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता कार्यक्रम कोशेढुंगा सावित हुने बताएका हुन् ।
सभामुख अर्यालले सीप, रोजगारी र उद्यमशीलतालाई युवाको जीवनसँग जोड्न आवश्यक रहेकोमा जोड दिए । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क प्रस्तुत गर्दै सभामुख अर्यालले नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहको रहेको स्मरण गराए । उनले यसलाई राष्ट्र निर्माणको असाधारण अवसर र जनसांख्यिक लाभांशका रूपमा लिनुपर्ने बताए । सरकारले अघि सारेको यस श्रमाधान मेलाले सीप र रोजगारदाता बीचको खाडललाई कम गर्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेशबाट शुरु भएको यो अभियानले देशभरका युवाहरूलाई सीपयुक्त बनाउँदै स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । अर्थतन्त्रमा नयाँ प्राण भर्नका लागि श्रमयोग्य जनशक्तिलाई सही ढंगले परिचालन गर्नु नै वर्तमान समयको मुख्य चुनौती र आवश्यकता दुवै रहेको उनको भनाइ छ ।