दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि प्रसाईंलाई पक्राउ गरी नियन्त्रणमा राख्नुको आधार र कारण स्पष्ट पार्दै लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
प्रसाईंकी पत्नी उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटी लगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । निवेदनमा प्रसाईंलाई पर्याप्त आधारबिना हिरासतमा राखिएको दाबी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीपछि साइबर ब्युरोको टोलीले असोज १२ गते भक्तपुरस्थित प्रसाईंको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउपछि प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अनुसन्धान अघि बढाउन अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् ।