सुनचाँदी कारोबारमा सरकारको नयाँ नियम, पुरानो गहना बेच्दा पनि खरिदको प्रमाण देखाउनुपर्ने
व्यवसायीले उपभोक्ताबाट सङ्कलन गरेको सीप प्रवर्द्धन शुल्क सम्बन्धित कार्यालयको कोड तथा राजस्व शीर्षक नम्बर ११४१३ मा अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्नेछ ।
काठमाडौं । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई व्यवस्थित बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । नयाँ कार्यविधिअनुसार नेपालमा अन्तिम उपभोक्तालाई सुनचाँदी तथा तिनका गरगहना बिक्री गर्दा बिक्री मूल्यमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ । शुल्क छली गरेको पाइएमा भने निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
आर्थिक ऐन, २०८३ को दफा १४ मा सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाई असुल गर्ने व्यवस्था छ । सोही व्यवस्थाको कार्यान्वयनका लागि विभागले शुल्कको असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी प्रक्रिया स्पष्ट पार्दै कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो ।
कार्यविधिअनुसार व्यवसायीले सुनचाँदीका गरगहना तथा वस्तु बिक्री गर्दाकै समयमा उपभोक्ताबाट शुल्क असुल गर्नुपर्नेछ । शुल्क लाग्ने कारोबारमा तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्ने र कारोबारको लेखाङ्कन प्रोद्भावी (एक्रुअल) आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, व्यवसायीले कारोबार भएको वा नभएको दुवै अवस्थामा प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र विवरण पेस नगरेमा लाग्ने शुल्कको प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ, सोहीबराबरको थप शुल्क लाग्नेछ ।
पुरानो सुन साट्दा के हुन्छ?
कार्यविधिले पुरानो सुनचाँदी खरिद गरी सोही ग्राहकलाई नयाँ गरगहना बिक्री गर्ने अवस्थालाई समेत स्पष्ट पारेको छ । ग्राहकले पुरानो गरगहना दिएर सोही तौल बराबरको मूल्यसम्म नयाँ गरगहना खरिद गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन । तर, पुरानो गरगहनाको तौलभन्दा बढी तौलको नयाँ गरगहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्नेछ । यस व्यवस्थाले पुरानो गरगहना साटेर नयाँ खरिद गर्ने कारोबारमा शुल्क गणनाको आधार स्पष्ट गरेको छ ।
सुनचाँदी खरिद–बिक्रीमा परिचयपत्र अनिवार्य
अब सर्वसाधारणले व्यवसायीलाई सुनचाँदी वा तिनका गरगहना बिक्री गर्दा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्नेछ । नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र वा नेपाल सरकारबाट जारी अन्य परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि अनिवार्य गरिएको छ । त्यसरी बिक्री गरिने सुनचाँदी वा गरगहना आफूले खरिद गरेको प्रमाणसमेत पेस गर्नुपर्नेछ । विदेशबाट ल्याइएको सुनचाँदी भएमा त्यसको प्रमाण पनि देखाउनुपर्ने व्यवस्था कार्यविधिमा छ ।
व्यवसायीले आफ्नो पसलबाट गरगहना निर्माणका लागि कालीगढकहाँ तथा कालीगढबाट पसलसम्म सुनचाँदी वा गरगहना ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ । गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
समयमै शुल्क नबुझाए ब्याज, छली गरे अतिरिक्त शुल्क
व्यवसायीले उपभोक्ताबाट सङ्कलन गरेको सीप प्रवर्द्धन शुल्क सम्बन्धित कार्यालयको कोड तथा राजस्व शीर्षक नम्बर ११४१३ मा अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्नेछ । तोकिएको समयमा शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ ।
कार्यविधिले शुल्क छली नियन्त्रणका लागि विभिन्न व्यवस्था गरेको छ । शुल्क असुल नगरेमा, बिक्री कारोबार खण्डीकरण गरेमा, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी न्यून शुल्क असुल गरेमा वा अन्य माध्यमबाट शुल्क छली गरेको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्न सक्नेछन् । यस्तो अवस्थामा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ ।
त्यस्तै, प्रत्येक सुनचाँदी व्यवसायीले आफ्नो पसलमा तोकिएको ढाँचाबमोजिमको सूचना पाटी राख्नुपर्नेछ । कार्यविधिले बिजक जारी गर्ने, कारोबारको अभिलेख राख्ने, विवरण पेस गर्ने र शुल्क दाखिला गर्ने प्रक्रियालाई व्यवस्थित गर्दै सुनचाँदी कारोबारमा शुल्क असुली तथा अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गरेको छ ।