नेपाल सुरक्षित रहेको सन्देश विश्वभर फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह

भोटेकोशी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् । भोटेकोशी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले भारत र चीनलगायत प्रमुख पर्यटकीय बजारमा नेपाल सुरक्षित रहेको सन्देशसहित प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

भोटेकोशी करिडोरमा आएको विपत्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नकारात्मक सन्देश जानसक्ने भएकाले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ । विपद् प्रभावित क्षेत्र र सामान्य अवस्थामा रहेका पर्यटकीय गन्तव्यबीचको भिन्नता स्पष्ट पार्दै वास्तविक अवस्थाबारे अन्तर्राष्ट्रिय बजारलाई जानकारी गराउनुपर्ने उनले बताए ।

शाहले काठमाडौं, चितवन र पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सरकार, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताए । दशैं–तिहारको मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन र सहजीकरण भएकाले विपद्पछिको अवस्थामा यस्ता कार्यक्रमलाई थप तीव्रता दिनुपर्ने उनले बताए । उनका अनुसार नेपाल आउने अधिकांश पर्यटक पदयात्रा, पर्वतारोहण र र्‍याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने गरेका छन् । यस्ता पर्यटक जोखिमबारे जानकार हुने भएकाले प्राकृतिक विपत्तिका कारण समग्र नेपालको पर्यटन प्रभावित हुने अवस्था आउन नदिन वास्तविक अवस्थाबारे सही सूचना प्रवाह गर्नुपर्ने उनले बताए ।

भूकम्प र कोभिड महामारीका बेला पनि नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गरेको स्मरण गर्दै उनले यसपटक पनि सरकार र निजी क्षेत्रबीच समन्वय गरेर योजनाबद्ध रूपमा अघि बढे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सकिने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय एयरलाइन्समार्फत नेपालको प्रवद्र्धन गर्न सुझाव

शाहले नेपालको पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको विश्वव्यापी सञ्जाललाई समेत उपयोग गर्नुपर्ने बताएका छन् । टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र कतार एयरवेजलगायत एयरलाइन्ससँग सहकार्य गरी नेपाल भ्रमणसम्बन्धी सकारात्मक सन्देश विश्व बजारमा पुर्‍याउनुपर्ने उनले बताए ।

नेपालमा पर्यटकको आगमन बढ्दा एयरलाइन्सको व्यवसायसमेत विस्तार हुने भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा उनीहरूको सहकार्य उपयोगी हुने उनको भनाइ छ । पोखरामा सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेपछि नेपालको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किरहेको सन्देश गएको उनले बताए ।

विपद्पछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार, नेपाललाई सहयोग गर्न इच्छुक संस्था तथा व्यक्तिहरूलाई एकीकृत गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न आवश्यक रहेको उनले बताए ।

नेपालको पर्यटन क्षेत्रसँग चुनौती सामना गरेको अनुभव र पुनरुत्थान गर्ने क्षमता दुवै रहेको उनको भनाइ छ । दशैं–तिहारको मुख्य पर्यटकीय सिजनमा हुनसक्ने आर्थिक क्षति न्यूनीकरण गर्न तत्काल प्रवद्र्धन, प्रभावकारी सूचना सम्प्रेषण र समन्वित कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने उनले बताए । पछिल्लो समय पर्यटकको बुकिङ रद्द हुने क्रम घट्दै गएको उनले जानकारी दिए । साथै, उनले पर्यटन व्यवसायी, होटलका कर्मचारी तथा विपद्बाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन आग्रह गरे ।

होटल संघले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क र ट्राभल एजेन्टमार्फत ‘नेपाल कलिङ, नेपाल नाउ’ अभियान सञ्चालन गर्दै नेपाल भ्रमणका लागि सुरक्षित र उपयुक्त गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेको उनले बताए ।