नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै, पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताए । अबको केही घण्टामा क्रुज निकाल्न सकिने उनको भनाइ छ ।

काठमाडौं । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने क्रुज सिपलाई क्रेनको सहयताले निकाल्ने प्रयास भइरहेको बताएका हुन् ।

७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताए । अबको केही घण्टामा क्रुज निकाल्न सकिने उनको भनाइ छ । उनले क्रुजसम्म पुग्नको लागि ट्र्याक खोलिसकेको जानकारी दिए । झन्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो । पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

उनले पृथ्वीराजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । राजमार्गको विभिन्न स्थानमा गएको पहिरो हटाइसकिएको र कृष्णभीरसमेत खुलिसकेको भन्दै साँझ राजमार्ग सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको उनको भनाइ छ । अहिले कृष्णभीरमा रहेको बोल्डर हटाउने कार्य भइरहेको उनले बताए । उनले वर्षाको कारण अन्य राजमार्ग र पुलमा पुगेको क्षतिको विवरण संकलनको कार्य भइरहेको समेत बताए । उनले सडक विभागले सरकारी तथा निजी क्षेत्रबाट समेत मेसिन भाडामा लिएर सडक तथा राजमार्ग खुलाउने कार्य गरिरहेको बताए।

उनले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल समेत तत्काल सुचारु गर्नेगरी काम भइरहेको बताए ।