निक्षेप सुरक्षणसम्बन्धी ऐन संशोधन मस्यौदा सार्वजनिक, १० दिनभित्र सुझाव दिन अर्थ मन्त्रालयको आग्रह

अर्थ मन्त्रालयले ‘निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तयार गरी सरोकारवालासँग राय-सुझाव मागेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको १० दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ ।

काठमाडौं । सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा रहेको निक्षेपलाई पनि निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गर्ने व्यवस्था अघि बढाएको छ । अर्थ मन्त्रालयले ‘निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तयार गरी सरोकारवालासँग राय-सुझाव मागेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको १० दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ ।

प्रस्तावित संशोधनअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट अनुमति प्राप्त बचत तथा ऋणमुखी सहकारीको निक्षेप तथा साना-मझौला कृषि, उद्योग र व्यवसायमा प्रवाह गरिएका कर्जालाई सुरक्षणको दायरामा ल्याइनेछ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था वा सहकारी संस्था समस्याग्रस्त भई व्यवस्थापन सरकारी निकायको जिम्मामा पुगेमा खारेजी वा लिक्विडेसनअघि नै सुरक्षित निक्षेप बराबरको रकम बचतकर्तालाई उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

कोषअन्तर्गत बैंक तथा वित्तीय निक्षेप, बैंक तथा वित्तीय कर्जा, सहकारी निक्षेप र सहकारी कर्जाका लागि चार छुट्टाछुट्टै कोष स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ । प्रत्येक कोषको हिसाब छुट्टाछुट्टै राखिने र एक कोषको दायित्व अर्कोबाट व्यहोर्न नपाइने व्यवस्था हुनेछ ।

मस्यौदामा कोषको पुँजी १० अर्ब रुपैयाँ कायम गर्ने तथा रकम अपुग भए सरकारले ९० दिने ट्रेजरी बिलको ब्याजदरमा ऋण उपलब्ध गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । साथै, संस्थाको जोखिमका आधारमा फरक-फरक सुरक्षण शुल्क निर्धारण गर्न सकिनेछ ।

सहकारी क्षेत्रमा देखिन सक्ने वित्तीय जोखिमबारे कोष र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सूचना आदानप्रदान गर्ने संयन्त्र पनि प्रस्ताव गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार संशोधन कार्यान्वयन भएपछि तत्काल बढीमा २ अर्ब रुपैयाँसम्म अतिरिक्त रकम कोषबाट बाहिरिन सक्ने अनुमान छ । समस्याग्रस्त संस्था पुनः सञ्चालनमा आए वा लिक्विडेसनपछि रकम फिर्ता हुने भएकाले दीर्घकालीन वित्तीय भार नपर्ने मन्त्रालयको निष्कर्ष छ ।