आर्थिक समृद्धिका लागि प्रभावकारी सरकारी सेवा प्रवाह अपरिहार्य : उपाध्यक्ष भट्ट
ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको आफ्नो ४४औँ वार्षिकोत्सव एवं कर्मचारी पुनःमिलन कार्यक्रममा उपाध्यक्ष डा भट्टले प्रतिष्ठान महत्त्वपूर्ण प्रज्ञिक थलोका रुपमा रहेको भन्दै आजभन्दा ४४ वर्ष अगाडि दूरदर्शी सोचका साथ प्रतिष्ठानको स्थापना गरिएको बताए ।
“अनुसन्धान, विकास र नवप्रवर्तनमा हुने लगानी आर्थिक वृद्धि र समृद्धिको प्रमुख आधार हो, विश्व अर्थतन्त्रमा नेतृत्व गरिरहेका मुलुकहरूको सफलतामा अनुसन्धान तथा नवप्रवर्तनमा गरिएको लगानीको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले प्रशिक्षण तथा अध्ययन गराउने संस्थाले कस्तो ज्ञान र सोच भएका प्रशासक तयार गर्छ भन्ने विषय प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाहसँग जोडिन्छ”, उपाध्यक्ष भट्टले भने ।
अनुसन्धान र नवप्रवर्तनले नै विश्व अगाडि बढिरहेको उल्लेख गर्दै उनले प्रशासकलाई दिइने शिक्षा र दृष्टिकोणले नागरिकप्रतिको व्यवहार तथा सरकारी नीतिमा प्रभाव पार्ने बताए । इतिहासमा माल्थस र रिचर्ड जोन्सबाट प्रशिक्षित प्रशासकहरूको फरक दृष्टिकोणले भारतमा भोकमरी, खडेरी र नागरिकप्रतिको सरकारी व्यवहारमा फरक प्रभाव पारेको उदाहरण प्रस्तुत गर्दै उपाध्यक्ष भट्टले प्रशिक्षणमा नागरिकप्रतिको संवेदनशीलता आवश्यक रहेको उल्लेख गरे ।
“उच्च आर्थिक वृद्धि र समृद्धिका लागि प्रभावकारी सरकारी सेवा प्रवाह अपरिहार्य छ, प्रशिक्षण संस्थाले योग्य, अनुशासित, आचरणयुक्त र नागरिकप्रति संवेदनशील जनशक्ति उत्पादन गर्नुपर्ने छ”, उनले भने ।