ग्यास नपाएको भन्दै अनेरास्ववियुले सडकमै खाना पकाए
काठमाडौं । बजारमा खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।
उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना पकाएर बिरोध जनाएका हुन् ।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन् । उनीहरूले गेटमै पकाएको खाना बसेर खाएका थिए ।
ग्यासको अभावका कारण कतिपय विद्यार्थी पढाइ छाडेर ग्यासको लाइनमा बस्न बाध्य भएका छन् भने कतिपयको डेरामा खाना पकाउनसमेत समस्या भएको छ ।
ग्यास नपाउँदा आफूहरू चाउचाउ र बिस्कुटको भरमा बस्नुपरेको विद्यार्थीहरूको गुनासो छ । उनीहरूले तत्काल ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
