तरलता व्यवस्थापन गर्न २ महिनाका लागि ५५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र १० करोड रुपैयाँका गुणकमा रकम प्रस्ताव गर्नुपर्नेछ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५५ अर्ब रुपैयाँ उठाउन लागेको छ । प्रणालीमा रहेको अतिरिक्त तरलता केही समयका लागि खिचेर मौद्रिक व्यवस्थापन गर्न राष्ट्र बैंकले यो उपकरण प्रयोग गर्न लागेको हो ।
बोलकबोल बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ। उपकरण आजै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज कात्तिक १८ गते भुक्तानी गरिनेछ ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र १० करोड रुपैयाँका गुणकमा रकम प्रस्ताव गर्नुपर्नेछ। कुल ५५ अर्ब रुपैयाँसम्म रकम माग गर्न सकिनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिनेछ। माग गरिएको रकमअनुसार कम ब्याजदरबाट क्रमशः बाँडफाँट गरिनेछ । एउटै ब्याजदरमा परेको बोल रकम कुल निष्कासन रकमभन्दा बढी भएमा प्रो-राटा आधारमा बाँडफाँट हुनेछ । राष्ट्र बैंकले आवश्यकता हेरी बोलकबोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्न सक्नेछ ।
