विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीबाट दुई करोड सहयोग
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीले दुई करोडभन्दा बढी सहयोग गरेका छन् ।
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीले दुई करोडभन्दा बढी सहयोग गरेका छन् ।
नेपाल टेलिकमका कर्मचारीका तर्फबाट सङ्कलित दुई करोड दुई लाख २६ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले आज उक्त रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले संस्थागत रूपमा समेत विपद् प्रभावितका लागि थप सहयोग गर्ने तयारी गरेको छ । कम्पनीले केही दिनभित्रै संस्थागत सहयोग घोषणा गर्ने बताइएको छ ।
