कृष्णभीरको समस्या समाधानका लागि सुरुङमार्ग र वैकल्पिक पुलको अध्ययन हुँदैः महानिर्देशक जैसी
महानिर्देशक जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो ।
काठमाडौँ । सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ ।
विभागका महानिर्देशक डा। विजय जैसीले आईतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् । महानिर्देशक जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको बताएका हुन् ।
कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनकाअनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग (टनेल) निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ ।
सडक विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उल्लेख गर्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काइने प्रतिवद्धता व्यक्त गरे । देशभरका करिव १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्न चुनौती भएपनि स्रोत र साधनले भ्याएसम्म विभाग २४ सै घण्टा खटिएको जैसीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले पनि कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ । सडक विभागले जनसाधारणलाई धैर्य गर्न अनुरोध गर्दै सुरक्षित सडक सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
