बाढी प्रभावितलाई राहत लिएर पुगेका आयुश ठकुरीलाई अवरोधबारे वडाले के भन्यो ?

विज्ञापन
ncell

विभिन्न व्यक्ति, समाजसेवी, टिकटकर तथा इन्फ्लुएन्सरले छुट्टाछुट्टै रूपमा राहत वितरण गर्दा एउटै परिवारले दोहोरो राहत पाउने र वास्तविक पीडित छुट्न सक्ने भएकाले एकद्वार प्रणाली अपनाइएको वडाको भनाइ छ ।

काठमाडौं । रसुवाका बाढी प्रभावितलाई राहत वितरण गर्न पुगेका टिकटकर तथा इन्फ्लुएन्सर आयुश सिंह ठकुरीले राहत वितरणमा स्थानीय तहबाटै अवरोध भएको गुनासो गरेका छन् । व्यक्तिगत रूपमा वास्तविक बाढीपीडितको पहिचान गरी आफ्नै हातबाट राहत सामग्री वितरण गर्न खोज्दा आफूले लामो समय कुर्नुपरेको उनको भनाइ छ ।

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका ठकुरीका अनुसार उनी बिहान करिब ७ बजे राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए। तर, राहत वितरणका लागि दिउँसो २ बजेसम्म कुर्नुपरेको उनले बताएका छन् ।

राहत वितरणका क्रममा होल्डिङ सेन्टरमा रहेका पीडितलाई भेट्न, उनीहरूको अवस्था बुझ्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा पुर्‍याउन समेत सहज नभएको ठकुरीको गुनासो छ। राहत वितरणपछि फर्किने क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पीडितको अवस्था बन्दीजस्तै भएको टिप्पणी गरे । ‘पीडितलाई बन्दी बनाएर राखेजस्तो अवस्था देखियो । सहयोग गर्न चाहने व्यक्तिलाई कुनै रोकतोक नगरी स्वतन्त्र रूपमा राहत वितरण गर्न दिनुपर्छ,’ उनले भने ।

ठकुरीले स्थानीय सरकार तथा स्थानीय तहका प्रतिनिधिले आफूहरूलाई प्रत्यक्ष रूपमा पीडितसमक्ष पुगेर राहत वितरण गर्न नदिएको आरोपसमेत लगाए । यद्यपि, विभिन्न अवरोधका बाबजुद आफू प्रभावित बस्तीमा पुगेर करिब ७०–८० जनालाई व्यक्तिगत रूपमा राहत सामग्री उपलब्ध गराउन सफल भएको उनले बताए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा खाद्यान्न मात्रै नभई दैनिक जीवन सञ्चालनका लागि आवश्यक अत्यावश्यक सामग्रीको समेत अभाव छ। ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, प्लेट, कपडा, ब्ल्याङ्केटलगायत सामग्रीको आवश्यकता रहेको उनले बताए ।

‘रासन पुगिरहेको छ । तर मानिसको दैनिक जीवन चलाउन बिहान उठेर खाना पकाउन ग्यास, सिलिन्डर, चुलो र भाँडाकुँडा चाहिन्छ । यस्ता सामग्रीको पनि अभाव छ,’ ठकुरीले भने । ठकुरीका अनुसार उनले व्यक्तिगत खर्चमा ब्ल्याङ्केट, सिरानी, खाद्यान्न तथा लत्ताकपडालगायत सामग्री जुटाएर प्रभावितलाई वितरण गरिरहेका छन् । आफूले सबै पीडितलाई सहयोग गर्न नसक्ने भए पनि आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा पुगिरहने उनले बताएका छन् । ‘म पूरै राज्य वा सरकार होइन, सबैलाई पुग्ने गरी सहयोग गर्न सक्दिनँ। तर आफ्नो तर्फबाट सक्ने सहयोग गर्छु । जहाँ दुःख छ, जहाँ पीडित छन्, त्यहाँ पुगेर पीडित खोज्नुपर्छ,’ उनले भने ।

वडा भन्छ- राहत संकलनअघि नै ‘एकद्वार प्रणाली’बारे जानकारी गराइएको थियो

यता सम्बन्धित वडाले भने राहत वितरणमा अवरोध गर्ने उद्देश्य नभई पीडितको पहिचान र राहतको समान वितरण सुनिश्चित गर्न ‘एकद्वार प्रणाली’ अपनाइएको जनाएको छ ।

वडाका अनुसार राहत सामग्री संकलन हुनुअघि नै वडाबाटै एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जानकारी गराइसकिएको थियो । विभिन्न व्यक्ति, समाजसेवी, टिकटकर तथा इन्फ्लुएन्सरले छुट्टाछुट्टै रूपमा राहत वितरण गर्दा एउटै परिवारले दोहोरो राहत पाउने र वास्तविक पीडित छुट्न सक्ने भएकाले एकद्वार प्रणाली अपनाइएको वडाको भनाइ छ । वडाले राहत वितरणलाई व्यवस्थित बनाउन प्रभावितको विवरण संकलन तथा पहिचान गरी आवश्यकताका आधारमा राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

तर, राहत लिएर प्रभावित क्षेत्रमा पुगेका केही समाजसेवी, टिकटकर तथा इन्फ्लुएन्सरले भने आफूहरूले प्रत्यक्ष रूपमा पीडितलाई भेटेर राहत सामग्री हस्तान्तरण गर्न नपाएको गुनासो गरिरहेका छन् । यसले बाढीपीडितको राहत वितरणमा व्यवस्थापन र पारदर्शिताका लागि अपनाइएको एकद्वार प्रणाली तथा प्रत्यक्ष रूपमा पीडितलाई सहयोग गर्न चाहने दाताको चाहनाबीचको विवाद सतहमा ल्याएको छ । राहत वितरण प्रभावकारी बनाउन वास्तविक पीडितको पहिचानसँगै सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई समेत सहज र पारदर्शी रूपमा सहभागी गराउने संयन्त्र आवश्यक देखिएको छ ।