रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता
मधेस प्रदेश प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् ।
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् ।
यसैबीच, बाढीमा फसेका सप्तरीका सञ्जयकुमार साहलाई त्रिशूली ए सुरुङबाट जीवितै उद्धार गरिएको छ । प्रहरीकाअनुसार सम्पर्कमा आउनेहरूमा पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता रहेका छन् । यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका-४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका-१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका-६ का दिपेश थापा पनि सुरक्षित फेला परेका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव, ई। विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरहीका सचिनकुमार यादव, गौशालाका आदित्यनारायण यादव र बर्दिवासका विकास भारती सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
यसैगरी, धनुषाको सबैलाका लक्ष्मण मेहता, हंसपुरका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार, जनकपुरधामका रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव पनि सम्पर्कमा आएका छन् । सिरहाको गोलबजारका टार्जन बलम्पाकी, लहानका उमेश यादव र कञ्चनरुपका अजय मरिक समेत परिवारको सम्पर्कमा आएको विवरण प्राप्त भएको छ ।
प्रवक्ता ढकालकाअनुसार हालसम्म सप्तरीका ४७, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन् । मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नागरिकहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन र विवरण संकलन गर्न विशेष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।
