अपिहिमालमा पहिरोले चमेलिया नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता

विज्ञापन
ncell

विशेषगरी चमेलिया नदीमा सञ्चालित जलविद्युत आयोजनाका कर्मचारी र ‘ड्याम साइट’ मा कार्यरत टोलीलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ ।

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका-१, भट्टारमा भीषण पहिरो खस्दा चमेलिया नदी थुनिएको छ । 

सोमवार दिउँसो करिव १ बजेतिर पहाडको माथिल्लो भागबाट खसेको ठूलो पहिरोले नदी थुनिँदा झन्डै आधा घण्टासम्म कृत्रिम ताल बनेको थियो । नदीले अहिले आफैँ कटान गरेर बग्न थालेपछि जोखिम केही न्युन भएपनि पहिरो झर्ने क्रम नरोकिएकाले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराकाअनुसार पहिरोका कारण भट्टार बस्तीका १० देखि १५ घरपरिवारका करिव ३० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विस्थापित हुनेहरूमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । उनीहरूलाई नजिकैको बस्ती र आफन्तकोमा व्यवस्थापन गरिएको छ भने वडा कार्यालय र गाउँपालिकामार्फत टेन्ट तथा म्याट उपलब्ध गराइएको छ । 

नदी थुनिए लगत्तै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र छिमेकी स्थानीय तहहरूसँग समन्वय गरी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएको थियो । विशेषगरी चमेलिया नदीमा सञ्चालित जलविद्युत आयोजनाका कर्मचारी र ‘ड्याम साइट’ मा कार्यरत टोलीलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ । 

उनले भने, ‘पहिरो अहिले पनि निरन्तर खसिरहेको छ । वर्षा जारी रहेकाले नदी पुनः थुनिन सक्ने र बाढी आउन सक्ने जोखिम कायमै छ । भट्टार बस्ती पहिरोको उच्च जोखिममा परेकाले उनीहरूको पुनःस्थापना र राहतका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको छ ।’

सो क्षेत्रमा केही वर्षअघि पनि पहिरो गएको थियो । भिरालो भौगोलिक बनावट र निरन्तरको मनसुनी वर्षाका कारण यसपटक पहाडको माथिल्लो भागबाटै ठूलो ढिस्को खसेको बताइएको छ । पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिनमा क्षति पुगेको छ, तर मानवीय क्षति भने भएको छैन । घटनास्थलमा प्रहरी र कर्मचारी परिचालन गरिएको छ भने रातभरि पानी पर्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरिएको छ ।