विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

विज्ञापन
ncell

तीमध्ये करिव १ सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ताले जानकारी दिए ।

काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । 

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कुटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी दिएका हुन् । ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदुत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान अवस्थाबारे अवगत गराइएको थियो । सो अवसरमा कुटनीतिक प्रतिनिधिहरूले विपदप्रति दुःख व्यक्त गर्दै आ-आफ्ना सरकार र संस्थाका तर्फबाट ऐक्यवद्धता एवं सहयोगको प्रतिवद्धता पुनः व्यक्त गरेका छन् । नेपाल सरकारले हालसम्म भएका खोज, उद्धार र राहतका प्रगतिबारे जानकारी दिँदै प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । 

दाता सम्मेलन आयोजना गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता क्षेत्रीले यसबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए । सम्मेलनका सम्बन्धमा हुने थप निर्णय र तयारीबारे पछि विस्तृत जानकारी गराइने उनले बताए । 

यसैगरी, चीनको केरुङ क्षेत्रमा रहेका करिव १ हजार ४ सय नेपाली नागरिकहरूको अवस्थाबारे मन्त्रालयले स्पष्ट पारेको छ । तीमध्ये करिव १ सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ताले जानकारी दिए । 

मन्त्रालयकाअनुसार विपदका कारण घरपरिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका साथ ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ । वैकल्पिक मार्ग प्रयोग गरेर भएपनि उनीहरूलाई छिट्टै नेपाल ल्याउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।