सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
विशेषगरी सिमलताल लगायतका क्षेत्रमा भएको दुर्घटना र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको उनको आरोप छ ।
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।
संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले राहत वितरण र उद्धार कार्यमा सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन् । सांसद केसीले राष्ट्रिय विपत्तिको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी सहमति र संवादमार्फत समाधान खोज्नुपर्ने बताए । सरकारले राहत वितरणमा प्रभावकारिता देखाउन नसकेको उल्लेख गर्दै उनले त्रिशूली पारि रसुवा लगायतका क्षेत्रमा अझै राहत पुग्न नसकेको दाबी गरे । विशेषगरी सिमलताल लगायतका क्षेत्रमा भएको दुर्घटना र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको उनको आरोप छ । बाढी र पहिरोको प्रकोपलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै उनले रसुवा र नुवाकोट क्षत-विक्षत भएको तथा धादिङ, गोरखा र चितवनका केही भागमा समेत ठुलो क्षति पुगेको जानकारी दिए । सरकारले एक्लै सबै काम गर्न सकिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने सुझाव दिएका हुन् ।
