पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी
उनले विपत्तिपछि पनि नेपाल पर्यटनका लागि खुला रहेको सन्देश विश्वभर पुर्याउन आवश्यक रहेको बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.धनञ्जय रेग्मीले प्राकृतिक विपत्तिका कारण नेपालको पर्यटनमा परेको असर न्युनिकरण गर्न सरकार, पर्यटन बोर्ड, निजी क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् । बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले रसुवा बाढीपछि नेपालको पर्यटन क्षेत्रमा केही असर देखिने बताएका हुन् । उनले पर्यटन पुनरुत्थानको लागी नेपालीसंघसंस्थासँगै अन्तर्राष्ट्रिय पर्यटन संस्था तथा विदेशस्थित नेपाली नियोगलाई पनि तत्काल परिचालन गर्नुपर्ने बताए ।
उनले विपत्तिपछि पनि नेपाल पर्यटनका लागि खुला रहेको सन्देश विश्वभर पुर्याउन आवश्यक रहेको बताए । प्राकृतिक विपत्ति कुनै एक देश वा व्यक्तिको नियन्त्रणमा नरहेको भन्दै उनले यसलाई त्यही रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रश्तुत गर्नुपर्नेमा जोड दिए । नेपालमा विपत्ति भएपनि देशका सबै पर्यटकीय गन्तव्य प्रभावित नभएकोले ‘नेपाल खुला छ’ भन्ने सन्देश विश्व पर्यटन बजारमा तत्काल पुर्याउनुपर्ने उनको भनाई छ ।
उनले नेपालले अन्तर्राष्ट्रिय संस्थालाई तिर्दै आएको सदस्यता तथा अन्य शुल्कलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्ने समय आएको बताए । उनका अनुसार नेपालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनलाई वार्षिक रूपमा रकम तिर्दै आएको छ । त्यस्ता संस्थासँगको सम्बन्धलाई अहिले प्रभावकारी सञ्चार र नेपालको वास्तविक अवस्था सार्वजनिक गर्न प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
उनले अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी संस्थाका सञ्चार प्लेटफर्ममार्फत पनि नेपाल सुरक्षित तथा पर्यटकका लागि खुला रहेको सूचना तत्काल प्रसार गर्नुपर्नेमा जोड दिए । नेपाल खुला छ भन्ने सन्देश एउटा मन्त्रालय वा नेपाल पर्यटन बोर्डले मात्र दिएर नपुग्ने उनको भनाई छ । विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई समेत तत्काल सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । राजदूत नभएको अवस्थामा पनि दूतावासका उपप्रमुख, डीसीएम तथा अन्य कर्मचारीलाई परिचालन गरी सम्बन्धित देशको भाषामा नेपालको वास्तविक अवस्थाबारे सूचना प्रवाह गर्नुपर्ने उनको भनाई छ ।
