बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?

विज्ञापन
ncell

यसपटकको बाढीले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उनले बताए ।

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटा भन्दा बढी पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका पक्की, बेलव्रिज तथा झोलुङ्गे पुल बगाएको हो । बाढीले केही पुल पूरै बगाएको छ भने केहिमा आंशिक क्षति पुर्‍याएको छ । तर त्रिशूली नदीमा भीषण बाढी आउँदा पनि धादिङको गल्छीमा रहेको एउटा पुल भने जोगिएको छ । अधिकांश पुलमा क्षति हुँदा धादिङस्थित महेशदोभानमा त्रिशूली नदीमाथी निर्माणधिन पुल जोगिएको हो । धादिङवेशी जोड्ने फुर्केखोला पुल समेत बाढीले लैजाँदा गल्छीको पुल कसरी जोगियो त ? सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान र पुलको जग चट्टानभित्र गहिरोसम्म पुर्‍याएर निर्माण गरेको कारण जोगिएको देखिन्छ । बाढीको तिब्र बहाव महानिर्देशक जैसीलाई पनि उक्त पुल जोगिन्छ भन्ने लागेको थिएन । तर बाढीको बहाव यस क्षेत्रमा आइपुग्दा केही कमजोर भएको र पुल रहेको स्थानमा नदीको बहाव फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले बाढीको प्रत्यक्ष दबाब कम हुन पुग्यो । सोही कारण पुलका संरचनात्मक भागमा ठूलो क्षति हुन नपाएको उनले बताए । चट्टानी भू-बनावट र नदीको फराकिलो क्षेत्रले पनि पुललाई बाढीको अत्याधिक वेगबाट जोगाउन सहयोग गरेको उनको भनाई छ । 

तर यही प्रकृतिको संरचना रहेको त्रिशूलीकै तुप्चे क्षेत्रमा रहेको अर्को पुल भने बाढीले बगाएको उनले बताए । महानिर्देशक जैसीकाअनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो । टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिव १०० मिटरसम्म माथि पुगेको आकलन गरिएको उनले बताए । यस्तो असाधारण बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण भएका संरचना जोगिन कठिन हुने उनको भनाई छ । 

अब पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन

रसुवा बाढीले पुलमा ठूलो क्षति पुर्‍याएपछि सडक विभाग पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ । बाढीका कारण क्षति पुगेका सडक तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक जैसीले पुलको डिजाइन परम्परागत ढंगले अब गर्न नहुने बताउछन् । यसपटकको बाढीले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उनले बताए । जलवायु परिवर्तनका कारण भविष्यमा विपद् थप बढ्न सक्ने भएकोले अब पुल निर्माणसम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएको उनको भनाई छ । उनकाअनुसार अब नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्नेछ । पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्नेगरी मापदण्ड बनाउनुपर्ने उनले बताए । रणनीतिक र ‘लाइफलाइन’ पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा विभागले छलफल अघि बढाएको पनि उनले जानकारी दिए ।

हाल नेपालमा हाइड्रोलोजिकल मापदण्डअनुसार सामान्यतः १०० वर्षको ‘रिटर्न पिरियड’ लाई आधार मानेर पुलको डिजाइन तथा पानीको बहाव र ‘फ्री बोर्ड’ निर्धारण गर्ने गरिएको छ । तर जलवायु परिवर्तनका कारण नदीमा आउने बाढीको प्रकृति र तीव्रता परिवर्तन भइरहेकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने महानिर्देशक जैसीले बताए ।