विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकारले जिम्मेवारीबाट हात झिकेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारे ।
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकारले जिम्मेवारीबाट हात झिकेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारे ।
मन्त्री पोखरेलकाअनुसार राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले तीनै तहका निकायबीच समन्वय गरिरहेको छ । यसै सिलसिलामा भदौ १४ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखबीच छलफल भएको हो ।
‘विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४’ बमोजिम नागरिकको खोज, उद्धार र राहतमा प्रदेश तथा स्थानीय तहको भूमिकालाई समेत प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर उक्त छलफल भएको उनले जानकारी दिए । विदेशी सञ्चारमाध्यमको पहुँच र सूचनामा रोक लगाइएको भन्ने जिज्ञासाको खण्डन गर्दै मन्त्री पोखरेलले हवाई सुरक्षा र अत्यधिक ‘एयर ट्राफिक’का कारण उडान सुरक्षालाई ध्यानमा राखेर केही व्यवस्थापन मात्र गरिएको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले हाल भारत, चीन र कोरिया लगायतका मुलुकका उद्धार टोलीहरू प्रभावित क्षेत्रमा सक्रिय रहेको बताए । सरकारको अबको मुख्य प्राथमिकता उद्धार र राहतसँगै स्थायी पुनस्र्थापनामा केन्द्रित हुने उनले उल्लेख गरे । मुख्य राजमार्ग, पुल, विद्युत् तथा सञ्चार माध्यमको पुनः सञ्चालनका लागि सरकारले योजनावद्ध रूपमा काम अघि बढाइसकेको उनको भनाइ छ ।
विपद्को यस संवेदनशील समयमा अपूरो वा असत्य सूचनाले उद्धार कार्य र आम नागरिकको मनोबलमा नकारात्मक असर पार्न सक्ने भन्दै मन्त्री पोखरेलले आधिकारिक निकायबाट पुष्टि भएका तथ्यहरू मात्र संप्रेषण गर्न सञ्चारकर्मी र मिडिया हाउसहरूलाई आग्रह गरे । प्रभावित क्षेत्रमा राहत र उद्धारको काम चौबिसै घण्टा जारी रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
