रसुवाका केही क्षेत्रमा अमेरिकी नागरिकलाई भ्रमण निषेध, नेपालभर ‘लेभल-२’ सावधानी

विज्ञापन
ncell

गत बुधबार आएको भीषण बाढीका कारण उक्त क्षेत्रमा यातायात तथा सञ्चार सेवा प्रभावित हुनुका साथै उद्धार तथा राहत कार्य जारी रहेको र थप बाढी तथा पहिरोको जोखिम रहेकाले यस्तो चेतावनी दिइएको दूतावासले जनाएको छ ।

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गर्दै समग्र सुरक्षा अवस्थालाई ‘लेभल-२’ अर्थात् थप सावधानी अपनाउनुपर्ने तहमा राखेको छ । तर, बाढीबाट प्रभावित रसुवाका केही क्षेत्रमा भने ‘लेभल-४’ अर्थात् भ्रमण नगर्नुपर्ने कडा चेतावनी जारी गरिएको छ ।

दूतावासले विशेषगरी रसुवागढी-टिमुरे-स्याफ्रुबेसी क्षेत्र तथा नेपाल-चीन सीमा नाकामा कुनै पनि कारणले भ्रमण नगर्न अमेरिकी नागरिकलाई आग्रह गरेको छ । गत बुधबार आएको भीषण बाढीका कारण उक्त क्षेत्रमा यातायात तथा सञ्चार सेवा प्रभावित हुनुका साथै उद्धार तथा राहत कार्य जारी रहेको र थप बाढी तथा पहिरोको जोखिम रहेकाले यस्तो चेतावनी दिइएको दूतावासले जनाएको छ ।

भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्र बाढीबाट प्रभावित भएकाले नदी किनार, कमजोर भिरालो जमिन तथा क्षतिग्रस्त पुलबाट टाढा रहन अमेरिकी नागरिकलाई सुझाव दिइएको छ । एड्भाइजरीमा नेपालको समग्र सुरक्षा अवस्थाबारे पनि सावधानी अपनाउन भनिएको छ । गत वर्षको जेनजी आन्दोलनपछि देशव्यापी प्रदर्शनहरू रोकिएर सुरक्षा अवस्था तुलनात्मक रूपमा स्थिर देखिए पनि सहरी क्षेत्रमा जुनसुकै बेला आकस्मिक प्रदर्शन हुन सक्ने दूतावासको आकलन छ । प्रदर्शनहरू अचानक हिंसात्मक बन्न सक्ने सम्भावना रहेको भन्दै भीडभाड हुने स्थानबाट टाढा रहन तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न अमेरिकी नागरिकलाई आग्रह गरिएको छ ।

दूतावासले नेपालमा उपलब्ध स्वास्थ्य सेवाबारे पनि सावधानी अपनाउन भनेको छ । काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा राम्रो भए पनि उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै रकम भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने एड्भाइजरीमा उल्लेख छ । गम्भीर स्वास्थ्य समस्या देखिएमा नेपालबाहिर लगेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले मेडिकल इभ्याकुएसनसमेत समेटिएको स्वास्थ्य बिमा गर्न अमेरिकी नागरिकलाई सुझाव दिइएको छ । त्यस्तै, नेपालमा भूकम्पको जोखिम सधैँ रहने तथा जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण बाढी र पहिरोले सडक तथा यातायात अवरुद्ध पार्न सक्ने चेतावनी पनि दूतावासले दिएको छ ।