त्रिशूली ३बीको सुरुङ प्रवेशमार्ग खोल्ने प्रयास तीव्र, १२२ जना अझै सम्पर्कविहीन

विज्ञापन
ncell

आइतबार राति करिब ३ बजे सुरुङको क्राउन क्षेत्रमा ब्लास्टिङ गरिएको थियो । तर, सुरुङको मुख पूर्ण रूपमा पानीले भरिएकाले उद्धार टोली भित्र प्रवेश गर्न नसकेको बताइएको छ।

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त त्रिशूली ३बी जलविद्युत् आयोजनाको सुरुङ प्रवेशमार्ग खोल्ने कार्यलाई तीव्र बनाइएको छ । सुरुङभित्र पुग्नका लागि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको भए पनि पानी र थुप्रिएको भग्नावशेषका कारण अझै प्रवेश गर्न सकिएको छैन ।

आइतबार राति करिब ३ बजे सुरुङको क्राउन क्षेत्रमा ब्लास्टिङ गरिएको थियो । तर, सुरुङको मुख पूर्ण रूपमा पानीले भरिएकाले उद्धार टोली भित्र प्रवेश गर्न नसकेको बताइएको छ । यसअघि देखि नै सुरुङको प्रवेशद्वार खुलाउने काम जारी रहेको र उद्धारकर्मीले विभिन्न उपायबाट अवरोध हटाउने प्रयास गरिरहेका छन् ।

आयोजनास्थलको पछिल्लो अवस्थाअनुसार नेपाली सेनाका ५१ जना सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । तीमध्ये ३१ जना क्याम्प तथा कार्यालय भवन व्यवस्थापनको काममा खटिएका छन् भने २० जनाको टोलीलाई द्रुत उद्धार तथा विशेष अपरेसनका लागि परिचालन गरिएको छ । तर, आवश्यक भारी उपकरण समयमै उपलब्ध हुन नसक्दा उद्धार तथा सुरुङ खोल्ने काम अपेक्षाकृत सुस्त बनेको छ । नुवाकोटस्थित सैनिक तालिम केन्द्रबाट ल्याउनुपर्ने एस्काभेटर अझै घटनास्थलमा नपुगेकाले हाल हाते विधिबाट पानी, लेदो र भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ ।

बाढीपछिको घटनामा त्रिशूली ३बी जलविद्युत् आयोजनासँग सम्बन्धित १२२ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । सुरुङभित्र फसेका वा सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे यकिन हुन नसकिरहेका बेला उद्धार टोलीले प्रवेशमार्ग खुलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।