रसुवा पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक हेलिकोप्टरबाट उद्धारको अनुरोध नगर्न सरकारको आग्रह
प्राधिकरणले विपद्को यस विषम परिस्थितिमा सीमित साधनस्रोतको अधिकतम उपयोग गर्न तथा वास्तविक रूपमा उद्धार आवश्यक परेका स्थानमा तत्काल सेवा पुर्याउन सबैलाई सहयोग गर्न अनुरोध गरेको छ ।
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ । साथै, अत्यावश्यक अवस्थामा बाहेक हेलिकोप्टरबाट उद्धारका लागि अनुरोध नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्राधिकरणले विपद्को यस विषम परिस्थितिमा सीमित साधनस्रोतको अधिकतम उपयोग गर्न तथा वास्तविक रूपमा उद्धार आवश्यक परेका स्थानमा तत्काल सेवा पुर्याउन सबैलाई सहयोग गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएका क्षेत्रमा यातायात सहज बनाउन विभिन्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । धादिङ जिल्ला जोड्ने वैकल्पिक मार्ग अन्तर्गत धादिङबेँसी-प्वाँटार-नेपालटार, गजुरीटार, पिपलटार, आमटार हुँदै मार्टर सडक प्रयोग गर्न सकिने जनाइएको छ ।
त्यस्तै, रसुवा जिल्ला जोड्ने वैकल्पिक मार्ग अन्तर्गत विदुर-देविघाट-चौघडा-आम-नानी-लम्च्याङ-सरसघोली-पाटेबगर हुँदै बेत्रावतीतर्फ जाने मार्ग सञ्चालनमा रहेको सूचनामा उल्लेख छ । यस मार्गमा केही स्थानमा चारपांग्रे सवारीसाधन सञ्चालन गर्न सकिने बताइएको छ ।
भदौ १० गते गएको विनाशकारी रसुवा बाढीका कारण ठूलो विपत्ति निम्तिएको छ । उक्त विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न वडा प्रभावित भएका छन् । प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना र नेपाली ३ हजार २४४ जनाको हवाई उद्धार गरिएको सूचनामा उल्लेख छ । तर, न्यून मात्र प्रभावित भएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हवाई उद्धारका लागि अनुरोध आइरहेको प्राधिकरणले जनाएको छ ।
यस्तो अवस्थामा अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएकाले अन्य अवस्थामा वैकल्पिक सडक मार्गबाट पुग्न सकिने स्थानमा हेलिकोप्टर उद्धारका लागि अनावश्यक अनुरोध नगर्न आग्रह गरिएको छ ।
