उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी
उनले आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष तथा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैमा आग्रह गरेको छ ।
काठमाडौं । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ । केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताएका हुन् ।
उनका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइनेछ । विपद्को फाइदा उठाउँदै कानूनले वर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको उनको भनाइ छ । उनले आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष तथा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैमा आग्रह गरेको छ ।
उनले विपद्का सम्बन्धमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरिरहेको बताए । मिथ्या सूचना फैलाएको पाइए कानूनबमोजिम कारबाही गरिने उनले बताए । उनले राहत सामग्री वितरणका नाममा भइरहेका गतिविधिलाई समेत एकद्वार प्रणालीअनुसार सञ्चालन गर्न आग्रह गरे । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेकाले स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत वितरण गर्न समेत प्रवक्ता काफ्लेले आग्रह गरे ।
