रसुवा बाढीः नेपाली सेनाद्वारा २ हजार ६५० जनाको उद्धार, ८ हजारभन्दा बढी सैनिक परिचालन
काठमाडौं । रसुवास्थित भोटेकोशी क्षेत्रमा गत १० भदौको बिहान आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको सुरक्षित उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार बाढी प्रभावित क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट निरन्तर उद्धार कार्य भइरहेको छ । अहिलेसम्म स्थलमार्गबाट २ सय जना र हवाई उद्धारमार्फत २ हजार ४५० जनालाई सुरक्षित स्थानमा पुर्याइएको सेनाले जनाएको छ ।
शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी र मैलुङ क्षेत्रबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये ४६ जना चिनियाँ र ८ जना भारतीय नागरिक रहेका छन् । शनिबार विभिन्न प्रभावित क्षेत्रबाट गरी कुल ५५० जनाको हवाई उद्धार गरिएको जंगी अड्डाले जनाएको छ । बाढीपश्चात् उद्धार गरिएकामध्ये १२१ जना भारतीय, ७२ जना चिनियाँ, १५ जना कोरियाली, ४ जना जर्मन, २ जना अमेरिकी, २ जना इटालियन तथा १ जना ओमानका नागरिक रहेका छन्। बाँकी उद्धार गरिएकाहरू नेपाली नागरिक हुन् ।
रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। उद्धार, खोजतलास तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि हाल ८ हजार ३ सय सैनिक खटाइएको सैनिक मुख्यालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहित अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू पनि खोज, उद्धार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय रहेका छन् ।
