बाढीपीडितलाई सहयोग गरेको नक्कली विवरण बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने युवक पक्राउ
आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले एआईको प्रयोग गरी नक्कली बैंक विवरण तयार पारेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली विवरण बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगङ्गा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान् कार्कीलाई पक्राउ गरिएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धार तथा राहतका लागि आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले एआईको प्रयोग गरी नक्कली बैंक विवरण तयार पारेका थिए ।
उनले उक्त नक्कली विवरणमा आफ्नै क्यूआर संकेतसमेत राखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीले जनाएको छ । कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
