रसुवा बाढीः मृतकमध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक
यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ ।
काठमाडौं । मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले यसबारे जानकारी दिएका हुन् । प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुने ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन् ।
यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३ सय ६२ पुगेको छ । यसमध्ये १ हजार ८ सय ६३ जना नेपाली नागरिक (१ हजार ५ सय ९१ पुरुष र २ सय ६४ महिला) रहेका छन् भने ५ सय २३ जना विदेशी नागरिक (२ सय २३ पुरुष र ३ सय महिला) बेपत्ता छन् ।
उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्लेले हालसम्म २ हजार ३ सय १ जनाको सफल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये १ हजार ५ सय ६ पुरुष र ७९५ महिला रहेका छन् ।
विपद् प्रभावितहरूका लागि नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ करिव १ हजार व्यक्तिले आश्रय लिइरहेका छन् । धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरिएको भएपनि हाल त्यहाँ कोही नरहेको प्रहरीले जनाएको छ । विपद् व्यवस्थापन र खोजी कार्यलाई तिब्रता दिन प्रहरीले विभिन्न विशेष टोलीहरू परिचालन गरेको छ ।
प्रवक्ता काफ्लेकाअनुसार गत १० गतेदेखि नै २२ जनाको मेडिकल टोली कार्यक्षेत्रमा खटिएको छ । खोजी कार्यलाई प्रभावकारी बनाउन ७ वटा ड्रोन र ६ जना अपरेटर सहितको टोली परिचालन गरिएको छ भने शनिवार थप ड्रोन र विपद् व्यवस्थापन टोली रसुवातर्फ पठाइएको छ । खोजी तथा उद्धार कार्यमा तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ । साथै, शव सङ्कलन, पहिचान, कानूनीसहायता तथा मुचुल्का लेखनका लागि छुट्टाछुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
