बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ ।
काठमाडौँ । धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ । धादिङ प्रहरीले यसबारे आधिकारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ। गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा रहेका ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालयहरू बगाएको थियो । कार्यालयहरू पूर्ण रूपमा बगाउँदा बैंकमा रहेको नगद, ऋणीले धितो राखेको सुनचाँदी र भल्टहरू पनि नदीमा मिसिएका थिए । बाढीले बगाउँदै ल्याएको एउटा भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो ।
