स्वास्थ्यकर्मीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

विज्ञापन
ncell

मन्त्रालयले खोज तथा उद्धार, उपचार र राहतका कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक बिदाको दिनमा समेत तयारी अवस्थामा रहन मातहतका कर्मचारीलाई आग्रह गरेको छ ।

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।

मन्त्रालयले खोज तथा उद्धार, उपचार र राहतका कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक बिदाको दिनमा समेत तयारी अवस्थामा रहन मातहतका कर्मचारीलाई आग्रह गरेको छ । प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै, प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य उपचार तथा राहत वितरणका काम जारी रहेको उल्लेख गरिएको छ।

विपद्को समयमा आवश्यकताअनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल परिचालन गर्नुपर्ने भएकाले विशेष कारण वा अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सबै मातहतका निकाय र कर्मचारीलाई विपद् व्यवस्थापन तथा स्वास्थ्य सेवामा आवश्यक परे तत्काल खटिन सक्ने अवस्थामा रहनसमेत भनेको छ ।