बाढी प्रभावितलाई कामना सेवा विकास बैंकको २५ लाख सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले रसुवाका बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार १० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो। बाँकी १५ लाख रुपैयाँ भने बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट संकलन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार कुल २५ लाख रुपैयाँ बाढी प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनर्स्थापनामा उपयोग हुनेछ। विपद्का कारण प्रभावित परिवारलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन उक्त सहयोगले योगदान पुग्ने बैंकको विश्वास छ ।
कामना सेवा विकास बैंकले विपद् तथा मानवीय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ । बैंकले सामाजिक हित र मानवीय सहायता प्रवर्द्धन गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
यसैबीच, बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनका लागि शुभेच्छा व्यक्त गरेको छ ।
बैंकले विपद्को कठिन समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक र सहयोगी सबैप्रति आभारसमेत व्यक्त गरेको छ ।
