बाढीपीडितका लागि कुमारी बैंकको ३ करोड सहयोग
आर्थिक सहयोगसँगै बैंकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक उपकरणसमेत उपलब्ध गराएको छ ।
काठमाडौं । कुमारी बैंकले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
आर्थिक सहयोगसँगै बैंकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक उपकरणसमेत उपलब्ध गराएको छ । बैंकले एआई जडित ५ वटा निगरानी ड्रोन, ५ केभीए क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको जनाएको छ ।
बैंकका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँगको समन्वयमा सहयोग परिचालन गरिएको हो ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । बैंकले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोगले प्रभावित समुदायको तत्कालीन राहत, खोज तथा उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
विपद्को कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ । साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।
