तीन बैंकमा कार्यरत १६ जना कर्मचारी अझै सम्पर्कविहीन

विज्ञापन
ncell

बैंकहरूले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा परिवार, आफन्त तथा सम्बन्धित व्यक्तिहरूलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने बैंकहरूले जनाएका छन् ।

काठमाडौं । रसुवा जिल्लाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि विभिन्न तीन बैंकमा कार्यरत १६ जना कर्मचारी अझै सम्पर्कविहीन भएका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनएमबी बैंक लिमिटेडले छुट्टाछुट्टै सूचना जारी गर्दै आफ्ना कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिएका हुन् ।

माछापुच्छ्रे बैंकका अनुसार २०८३ भदौ १० गते बिहान करिब ८ः४० बजे रसुवा जिल्लाको टिमुरे आसपासमा आएको विशाल बाढीका कारण टिमुरे शाखामा कार्यरत पाँच जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा भीम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र निङ्मा तामाङ रहेका छन् । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएकाले कर्मचारीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भइरहेको बैंकले जनाएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात जना कर्मचारी पनि बाढीपछि सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखाका एक र मैलुङ एक्स्टेन्सन काउन्टरका एक कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

स्याफ्रुवेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पर्कविहीन छन् । त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा तथा मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्कासँग पनि सम्पर्क हुन सकेको छैन ।

यता, एनएमबी बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी पनि बाढीपछि सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार धिरज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित हालसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

बैंकहरूले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा परिवार, आफन्त तथा सम्बन्धित व्यक्तिहरूलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने बैंकहरूले जनाएका छन् ।