भोटेकोशी बाढी: २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता

विज्ञापन
ncell

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको अवस्था यकिन गर्न पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य सरोकारवाला निकायले विभिन्न १० वटा ट्राभल एजेन्सीसँग समन्वय गरी खोजी तथा विवरण प्रमाणीकरणको काम तीव्र पारेका छन् ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान ८ः३० बजे आएको आकस्मिक भीषण बाढीका कारण ३८४ जना पदयात्री तथा पर्यटक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको अवस्था यकिन गर्न पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य सरोकारवाला निकायले विभिन्न १० वटा ट्राभल एजेन्सीसँग समन्वय गरी खोजी तथा विवरण प्रमाणीकरणको काम तीव्र पारेका छन् ।

बोर्डले सार्वजनिक गरेको एजेन्सीगत विवरणअनुसार ट्रेकर्स सोसाइटीका ९२ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये ७७ जना विदेशी र १५ जना नेपाली छन् । त्यस्तै, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना सम्पर्कविहीन रहेकोमा ५९ जना भारतीय र १२ जना नेपाली छन् ।

लीफ होलिडेका ५५ जना पनि सम्पर्कविहीन छन् । तीमध्ये ४६ जना भारतीय र ९ जना नेपाली रहेका छन् । हिमालयन ग्लेशियरका ५२ जना सम्पर्कविहीन रहेको विवरणमा ३७ जना गैरआवासीय नेपाली र १५ जना नेपाली छन् ।

त्यस्तै, कैलाश जर्नीका ३१ जना (२६ विदेशी र ५ नेपाली) तथा फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना सम्पर्कविहीन छन् । फिस्टेलका सम्पर्कविहीनमध्ये २० जना विदेशी छन्, जसमा ३ अमेरिकी र १७ मलेसियाली नागरिक रहेका छन् भने ७ जना नेपाली छन् । अल्पाइन इको ट्रेकका २० जना सम्पर्कविहीन छन्। तीमध्ये १६ जना विदेशी रहेका छन्, जसमा १२ बेलायती र ४ दक्षिण अफ्रिकी नागरिक छन् । काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना सम्पर्कविहीन रहेकोमा २ जना विदेशी र १५ जना नेपाली छन् ।

यसैगरी, ऋचा टुर्स एन्ड ट्राभल्सका १२ जना (८ विदेशी र ४ नेपाली) तथा एक्सप्लोर भ्याकेसनका ७ जना नेपाली पदयात्री पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।

पर्यटन बोर्डले गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँगको समन्वयमा प्राप्त विवरण थप यकिन गर्ने र खोजतलासलाई निरन्तरता दिएको जनाएको छ। सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार तथा सूचना संकलनमा चुनौती देखिएको बोर्डले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई शान्त रहन, आधिकारिक सूचनाको प्रतीक्षा गर्न र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न बोर्डले आग्रह गरेको छ । आपत्कालीन सहयोगका लागि सरकारले निःशुल्क नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ उपलब्ध गराएको छ। 

बाढी प्रभावित व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको सुरक्षा निकाय वा सम्बन्धित ट्राभल एजेन्सीलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।