नेप्सेमा १०.६७ अंकको गिरावट, कारोबार ४ अर्बमा सीमित हुँदा १९८ कम्पनीको मूल्य घट्यो
आज ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)शुक्रबार घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहिबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज पनि सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ । कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ५.२६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये म्युचुअल फण्डको परिसूचक मात्रै बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक घटेका छन्। अन्य उपसमूह सर्वाधिक १.०६ प्रतिशतले घटेको छ ।
शुक्रबार कारोबारमा आएका मध्य ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
