बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

विज्ञापन
ncell

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा। शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताइन् । उनले हाम्रो छोरीहरु कहाँ सुरक्षित छन्? भन्दै सरकारलाई प्रश्न समेत गरिन् । सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताइन् । उनले छोरीको जीवनभन्दा ठूलो केही नहुने भन्दै अपराधीलाई, उमेर, लिंग वा शक्तिका आधारमा उम्किन दिन नहुने बताइन् । उनले बालिका तथा महिलामाथी हुने यौन हिंसाका घटनामा शुन्य सहनशीलताको नीति लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । उनले कानून बनाई बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न समेत माग गरिन् ।

रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरवाही गरिरहेको आरोप लगाए । उनले घटना दर्ता भएपछि पनि प्रहरीले सक्रिय नहुनु गम्भीर विषय भएको बताए । उनले प्रहरीको एक्सन लग सार्वजनिक गरी दोषि प्रहरीमाथि कारबाही समेत माग गरे ।

बाराको जितपुरसिमरा-१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलवार एउटा घरको खाली कोठामा फेला परेको थियो ।