आलोचनाको परवाह नगरी मानवीय सेवामा कर्तव्यनिष्ठ भई लाग्न गृहसचिव श्रेष्ठको आग्रह

विज्ञापन
ncell

पृथ्वी सबै मानवको साझा घरका भएकाले मानव जाति एउटै परिवारका सदस्य भएको उल्लेख गर्दे एकअर्काको दुःख-सुखमा साथ दिनुपर्नेमा जोड दिए ।

काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेबार र कर्तव्यनिष्ठका साथ लाग्न सबैलाई अनुरोध गरेका छन् । विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार ललितपुरमा गरेको कार्यक्रममा उनले मानवीय सहायता केवल संकटका बेला गरिने सहयोग मात्र नभई मानव-मानवबीचको साझा जिम्मेवारी र सेवाभावको अभिव्यक्ति भएको बताए ।

उनले मानवीय सहायता प्रभावकारी बनाउन संस्थागत प्रयाससँगै व्यक्तिगत सेवाभाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पृथ्वी सबै मानवको साझा घरका भएकाले मानव जाति एउटै परिवारका सदस्य भएको उल्लेख गर्दे एकअर्काको दुःख-सुखमा साथ दिनुपर्नेमा जोड दिए । उनले देश, क्षेत्र, समुदाय, टोल र घरका आधारमा विभाजित हुन नहुने उल्लेख गरे ।

श्रेष्ठले मानवीय सहायता प्रदान गर्न विश्वव्यापी रूपमा संस्थागत संरचना विकास भएको र सेवाभाव भएका मानिसहरू विभिन्न क्षेत्रमा जोडिएर काम गरिरहेको प्रसंग उल्लेख गर्दे सामूहिक सेवाभावले नै मानिसलाई कठिन परिस्थितिलाई सहज बनाउन सहयोग गरिरहेको बताए । मानवीय सहायता वितरणका क्रममा सरकारी निकाय तथा गैरसरकारी संस्थामाथि गुनासो र आलोचना आउने गरेको स्मरण गर्दे गृह सचिव श्रेष्ठले सेवाभावबाट विचलित नभई काम गर्नुपर्नेमा जोड दिए ।

देख्ने व्यक्तिले फरक-फरक रूपमा मूल्याङ्कन गरे पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिए । उनले काम गर्दा प्रसंम्सा र आलोचना दुवै आउने भएकाले मातिने र आतिने गर्न नहुने बताए । किर्डाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले मानवीय सहायता प्रभावकारी बनाउन समुदाय र स्थानीय तहको सशक्तीकरणमा जोड दिनुपर्ने बताए । 

 कार्यक्रममा मानवीयकार्यमा खटिएर उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रहरी नायव निरीक्षक प्रेम साउद, शसस्त्र प्रहरी बल, विपद् व्यवस्थापन निर्देशनालयका सशस्त्र प्रहरी नायव उपरीक्षक कमलबहादुर अधिकारी, सामुदायिक विपद् व्यवस्थापन समिति रौतहटकी सदस्य रुपकलि देवी राम र कञ्चनपुर सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव कमला खड्कालाई सम्मान गरिएको हो ।