नेपाल स्टक हाउसको आम्दानी २० करोड नाघ्यो, ९ महिनामै ६ करोडभन्दा बढी नाफा

विज्ञापन
ncell

कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा निरन्तर बढ्दै गएको देखिएको छ । कम्पनीले सन् २०२५ मा १८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

काठमाडौं । ब्रोकर नम्बर १४० अन्तर्गत सञ्चालनमा रहेको नेपाल स्टक हाउसले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा निरन्तर बढ्दै गएको देखिएको छ ।

कम्पनीले सन् २०२५ मा १८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०२४ मा यस्तो आम्दानी ८ करोड १० लाख रुपैयाँ मात्रै थियो। सन् २०२५ मा कम्पनीको आम्दानी १३२ प्रतिशतले बढेको थियो भने गत आर्थिक वर्षमा पनि वृद्धि कायम रहँदै आम्दानी २० करोड २० लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामै कम्पनीले करिब साढे १३ करोड रुपैयाँ आम्दानी गरेको थियो । सो अवधिमा कम्पनीको खुद नाफा ६ करोड २० लाख रुपैयाँ पुगेको छ । यसअघि सन् २०२५ मा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ तथा सन् २०२४ मा २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी बढ्नुमा मुख्य रूपमा स्टक ब्रोकर कमिसनबाट हुने आम्दानीमा आएको वृद्धि जिम्मेवार रहेको छ । कम्पनीको कुल आम्दानीमध्ये सन् २०२५ र गत आर्थिक वर्ष दुवै अवधिमा करिब ९६ प्रतिशत हिस्सा स्टक ब्रोकर कमिसनबाट आएको जनाइएको छ ।

यता, गत आर्थिक वर्षमा नेप्सेमा समग्र कारोबार रकम घटेकाले कम्पनीको कारोबार पनि प्रभावित भएको छ । उक्त अवधिमा नेपाल स्टक हाउसले ६ अर्ब २ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यो सन् २०२५ को तुलनामा करिब १३ प्रतिशत कम हो ।

वित्तीय अवस्थातर्फ हेर्दा कम्पनी मध्यम ऋणभारको अवस्थामा रहेको देखिन्छ । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको समग्र गियरिङ १.११ गुणा रहेको थियो । सो अवधिसम्म कम्पनीको खुद सम्पत्ति ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कुल ऋण २१ करोड ५० लाख रुपैयाँ रहेको छ ।

सन् १९९६ मा स्थापना भएको नेपाल स्टक हाउस नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र ब्रोकर तथा डिपोजिटरी पार्टिसिपेन्ट कम्पनी हो । कम्पनीले लगानीकर्ताको तर्फबाट धितोपत्र खरिद–बिक्रीमा सहजीकरण गर्दै मुख्य रूपमा कमिसनमार्फत आम्दानी गर्दै आएको छ ।

कम्पनीले गत असारमा स्टक एक्सचेन्जबाट मार्जिन ऋण सुविधा सञ्चालन गर्ने अनुमति पनि पाएको छ । यसले आगामी दिनमा कम्पनीको व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा हाल ९२ वटा स्टक ब्रोकर सञ्चालनमा रहेका छन् । तीमध्ये नेपाल स्टक हाउस १४औं स्थानमा रहेको छ । कम्पनीको बजार हिस्सा पनि बढेको छ । सन् २०२५ मा १.६३ प्रतिशत रहेको बजार हिस्सा गत अवधिमा बढेर १.८८ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।

ईश्वरीप्रसाद रिमाल अध्यक्ष रहेको नेपाल स्टक हाउसले अल्पकालीन कर्जातर्फ १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । उक्त कर्जाका लागि कम्पनीले ‘ए फोर प्लस’ रेटिङ प्राप्त गरेको छ ।