नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ढुन्डिराज पौडेल
यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका पौडेलसँग काउन्सिलको कामकारबाहीबारे समेत अनुभव रहेको छ ।
काठमाडौं । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार पौडेललाई काउन्सिलको अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
अस्पताल व्यवस्थापन र चिकित्सा शिक्षाका क्षेत्रमा लामो समयदेखि सक्रिय डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्ष थिए । भरतपुर अस्पतालको सेवा विस्तारसँगै त्यसलाई शिक्षण अस्पतालका रूपमा थप विकसित गर्नुपर्ने विषयमा उनले विशेष जोड दिँदै आएका थिए । भरतपुर अस्पताललाई छुट्टै कानुनी संरचनासहित राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने उनको धारणा रहँदै आएको छ ।
सरकारी अस्पतालको पूर्वाधार र क्षमता बढाएर सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै चिकित्सा शिक्षालाई समेत प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन् । नयाँ जिम्मेवारीसँगै डा. पौडेलले चिकित्सकको पेशागत आचरणको नियमन, चिकित्सा शिक्षाको गुणस्तर, चिकित्सकसम्बन्धी परीक्षा तथा समग्र चिकित्सकीय पेशाको नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
डा.पौडेलले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस पूरा गरेका छन् । त्यसपछि उनले सोही संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका हुन् ।
यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका पौडेलसँग काउन्सिलको कामकारबाहीबारे समेत अनुभव रहेको छ ।
