मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव
बोर्डले प्रस्तावित व्यवस्थामाथि सरोकारवालासँग राय तथा सुझाव मागेको छ। सेबोनले दोस्रो बजार सुधारका लागि गठन गरेको समन्वय तथा सहजीकरण समितिले मस्यौदामाथि छलफल गरेर सुझाव मागेको हो ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित र जोखिममा आधारित बनाउन ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले प्रस्तावित व्यवस्थामाथि सरोकारवालासँग राय तथा सुझाव मागेको छ। सेबोनले दोस्रो बजार सुधारका लागि गठन गरेको समन्वय तथा सहजीकरण समितिले मस्यौदामाथि छलफल गरेर सुझाव मागेको हो ।
बोर्डका अनुसार नेपालको पुँजी बजारले संस्थागत विकास, विद्युतीय कारोबार प्रणाली र लगानीकर्ता आधार विस्तारमा उल्लेख्य प्रगति गरे पनि बजारको गुणात्मक विकासका लागि थप आधुनिक वित्तीय उपकरण र कारोबार प्रणाली आवश्यक छ। त्यसैलाई ध्यानमा राखेर बोर्डले मार्जिन लेन्डिङसँगै इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट सेलिङ प्रणाली कार्यान्वयन गर्ने तयारी अघि बढाएको छ ।
यीमध्ये पहिलो चरणमा मार्जिन ऋण कारोबार सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार गर्न नियमावलीको मस्यौदा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । बोर्डले सम्बन्धित सबै सरोकारवालालाई मस्यौदामा आफ्ना सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । राय तथा सुझाव बोर्डको इमेल support@sebon.gov.np मा पठाउन सकिनेछ । बजारमा अहिले नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दक्षिणकाली, क्रिस्टल कञ्चनजंघा लागयत ब्रोकरहरुले मार्जिन कारोबारको सुविधा दिइरहेका छन् ।
